
एशिया।
एशियाका दुई शक्तिशाली देश—चीन र जापान—बीच फेरि एकपटक तनाव चर्किएको छ। ताइवानको विषयलाई लिएर सुरु भएको राजनीतिक बिबाद अहिले सैनिक चेतावनी र समुद्री गतिविधिसम्म फैलिएको छ।
चीनले ताइवानमाथि सैन्य कदम चाल्न सक्ने संकेत देखाएपछि जापानले ताइवानको सुरक्षामा सहयोग गर्न सकिने चेतावनी दिएको थियो। यही चेतावनीपछि टोकियोस्थित चिनियाँ राजदूतले जापानलाई अत्यन्तै कठोर प्रतिक्रिया दिँदै, ताइवान मामिलामा जापानले हस्तक्षेप गरे “गम्भीर परिणाम” भोग्नु पर्ने चेतावनी दिएका छन्।
यसबीच, समुद्रमै पनि दुवै देशबीच तनाव बढेको छ। आइतबार जापानले नियन्त्रणमा रहेको सेनकाकु टापु नजिक चिनियाँ कोस्ट गार्ड जहाज देखिएको जापानको दाबी छ। त्यसपछि जापानी कोस्ट गार्डले उक्त जहाजलाई त्यहाँबाट बाहिर धपाएको जानकारी सार्वजनिक गरेको छ।
स्थिति चर्किँदै जाँदा अमेरिकाले पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। अमेरिकाले भनेको छ—यदि चीनले सेनकाकु टापुमाथि आक्रमण गर्यो भने, अमेरिका–जापान सुरक्षा सम्झौताअनुसार अमेरिका जापानको सुरक्षामा उभिनेछ। यसको अर्थ, चीन–जापानबीच युद्ध भड्किए, अमेरिका पनि सोही द्वन्द्वमा तानिन सक्छ।
यसै सन्दर्भमा, अमेरिकाले जापानमै टाइफुन मिसाइल सिस्टम तैनाथ गरेको छ, जसले २००० किलोमिटरसम्म प्रहार गर्न सक्छ। चीनले यसलाई आफ्ना सुरक्षामाथि खतरा भन्दै तुरुन्त हटाउन माग गरेको छ।
उता चीनले जापान भ्रमण तथा अध्ययन गर्न जाने आफ्ना नागरिकलाई सुरक्षा चेतावनी जारी गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार अहिले सम्म ५ लाखभन्दा धेरै यात्रुहरूले जापान जाने टिकट रद्द गरिसकेका छन्, जुन कुल टिकटको झन्डै ३३ प्रतिशत हो। यसले जापानको पर्यटन तथा आर्थिक क्षेत्रलाई असर पार्ने अनुमान गरिएको छ।
सेनकाकु र दक्षिण चीन सागरको विवाद पुरानो हो, जहाँ तेल, ग्यास र रणनीतिक समुद्री मार्गका कारण दुवै देशको दाबी रहँदै आएको छ। इतिहास हेर्दा चीन र जापानबीच दुई पटक युद्ध भइसकेको छ। जापानको भनाइ अनुसार, यदि चीनले ताइवान नियन्त्रणमा लियो भने चिनियाँ सेना जापानबाट करिब ११० किलोमिटर नजिक पुग्नेछ—जसले जापानको सुरक्षामा गम्भीर चुनौती निम्त्याउन सक्छ।
यही कारणले जापानले पछिल्ला वर्षहरूमा आफ्नो सैन्य खर्च उल्लेख्य रूपमा बढाएको छ।
यद्यपि, विवादका बाबजुद चीन र जापान एक–अर्काका ठूला व्यापारिक साझेदार पनि हुन्। एशियाली राजनीति, विश्व अर्थतन्त्र र सामरिक सन्तुलनका लागि दुवै देशबीच स्थिर सम्बन्ध आवश्यक मानिन्छ।
तर, अमेरिकी हस्तक्षेप, समुद्री विवाद, र ताइवानको विषयले गर्दा चीन–जापान सम्बन्ध अहिले पनि अत्यन्तै जटिल मोडमा रहेको देखिन्छ।

























