
काठमाडौं — भारतको डुवर्समा छायाङ्कन गरिएको नेपाली फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरले कथाको भावनात्मक पृष्ठभूमि झल्काएको छ — जसमा परिवारभित्रको माया, आर्थिक समस्याले ल्याउने चुनौती र समाजका कटु यथार्थको मार्मिक चित्रण देख्न सकिन्छ।
फिल्ममा सन्तानका सपना पूरा गर्न आमाबुवाले गर्ने अथक प्रयासलाई मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ। गम्भीर कथाभित्र हल्का कमेडी मिसाएर यसले दर्शकलाई भावनात्मक रूपमा छोने संकेत दिएको छ।
उदीप राना थापाको निर्देशनमा बनेको ‘धागो’ नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक बन्धन (धागो) वरिपरि घुम्छ।
फिल्ममा मुख्य भूमिकामा सुरक्षा पन्त देखिएकी छन्। उनीसँगै प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायत कलाकारको अभिनय छ भने वर्षा राउत विशेष (केमियो) भूमिकामा देखिनेछिन्।
म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउस द्वारा निर्मित यस फिल्मका निर्माता उमा थापा, उत्तम थापा र निर्देशक स्वयं उदीप राना थापा हुन्। छायांकन अनिकेर एम. घोघ ले गरेका हुन्।
फिल्म ‘धागो’ आगामी २८ कात्तिक (१४ नोभेम्बर) मा नेपाल र भारत दुबै देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।
























