
काठमाडौँ — हालै चलचित्र विकास बोर्डले चार नेपाली फिल्मको नयाँ बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार सबैभन्दा सफल फिल्म ‘जेरी अन टप’ बनेको छ, जसले ६ करोड ५१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ। यो फिल्मका १ लाख ९९ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।
यसपछि ‘बलिदान’ दोस्रो स्थानमा परेको छ, जसले ५ करोड ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। तेस्रो स्थानमा रहेको ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७० लाख रुपैयाँ कमाएको छ भने चौथो स्थानमा रहेको ‘माइतीघर’ ले ४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ।
टिकट बिक्रीको हिसाबले ‘बलिदान’ का १ लाख ६९ हजार, ‘हरिबहादुरको जुत्ता’ का १ लाख ४८ हजार, र ‘माइतीघर’ का १ लाख ४२ हजार टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डका अनुसार यो रिपोर्ट कात्तिक ८ गतेसम्मको हो, र बक्स अफिस रिपोर्टहरू हरेक हप्ता सार्वजनिक गरिने बताइएको छ।
























