
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित प्रस्ट भएको छ।
प्रत्यक्ष मतमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ। निर्वाचन आयोगले अझै औपचारिक सिट निर्धारण भने गरेको छैन। तर हाल उपलब्ध डाटा अनुसार ‘सेन्ट लग’ फर्मुला प्रयोग गर्दा रास्वपाले समानुपातिकमा ५७ सिट पाउने देखिन्छ।
यदि यही संख्या कायम रह्यो भने, रास्वपालाई दुई तिहाइ बहुमतका लागि २ सिट कम पर्छ। हाल रास्वपाले प्रत्यक्ष र समानुपातिक सिट मिलाएर १८२ सिट पाउने देखिन्छ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक हुन्छ। यसबाहेक, स्वतन्त्र सांसद महाविर पुनले पनि रास्वपाको समर्थन पाउँदै निर्वाचित भएका छन्।
समानुपातिक मतमा रास्वपाले कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत पाएको छ, जुन कुल मतको करिब ४७.५ प्रतिशतभन्दा बढी हो।
समानुपातिक प्रणाली अन्तर्गत ६ वटा पार्टीले सिट पाउने देखिएका छन्। दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० सिट पाउँदा प्रतिनिधि सभामा कुल ३८ सिटमा सीमित हुने देखिएको छ। यो संख्या गत चुनावको ८९ सिटको तुलनामा आधाभन्दा कम हो।
























