
काठमाडौँ । पित्तथैली कलेजोको पछाडि रहेको सानो अंग हो, जसले बोसो पचाउन पित्त सानो आन्द्रामा पठाउँछ। यही पित्त गाढा भएर कडा बन्दा पित्तथैलीमा पत्थरी बन्ने जोखिम बढ्छ। चिकित्सकहरूका अनुसार धेरैजसो अवस्थामा पत्थरीको प्रारम्भिक लक्षण नदेखिने भएकाले अन्ततः शल्यक्रिया नै एक मात्र विकल्प बन्ने गर्छ।
महँगो शल्यक्रिया जोगिन र पित्तथैलीको पत्थरीको सम्भावना कम गर्न खानपानमा सजग हुन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेषगरी चार प्रकारका खानेकुरा कम गर्न सके जोखिम घटाउन सकिन्छ।
१. प्रशोधित (Processed) खानेकुरा
चिप्स, चाउचाउ, प्याकेट खानाजस्ता प्रशोधित वस्तुमा अस्वस्थ बोसो र धेरै चिनी हुन्छ, जसले कलेजो र पित्तथैलीमा समस्या बढाउँछ।
२. धेरै चिनी भएका खाना
सोडा, प्याकेट जुस, मिठाइ, रेडिमेड खानेकुरामा भएको उच्च चिनीले बोसो र कोलेस्ट्रोल बढाएर पत्थरीको खतरा बढाउँछ।
३. रातो मासु
रातो मासुमा पाइने स्याचुरेटेड फ्याट र कोलेस्ट्रोल पित्तथैलीमा बोसो जम्न प्रेरित गर्छ र पत्थरी हुने सम्भावना बढाउँछ।
४. तारेका र भुटेका खाना
धेरै तेलमा पकाइएका परिकारहरूमा अस्वस्थ बोसो उच्च मात्रामा रहन्छ, जसले पित्त रसलाई कडा बनाउँदै पत्थरीको जोखिम बढाउँछ।
विशेषज्ञहरूका अनुसार यी खानाहरूको मात्रा कम गरी स्वस्थ जीवनशैली अपनाए पित्तथैलीको पत्थरीबाट धेरै हदसम्म जोगिन सकिन्छ।
























