
जापान भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरे। मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति जगेर्नाका क्षेत्रमा जापानी सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले बुद्धको शिक्षाले नेपाल–जापान सम्बन्धलाई सांस्कृतिक रूपमा जोडेको उल्लेख गर्दै लुम्बिनीले दुवै देशका जनताबीच सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, उनले सन् १९८७ मा सम्राट नारुहितोको नेपाल भ्रमण स्मरण गर्दै जापान सरकारको सहयोगप्रति आभार व्यक्त गरे।
सम्राट नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ दुवै देशका लागि महत्वपूर्ण भएको बताउँदै प्राकृतिक विपद्का बेला जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानका परराष्ट्र राज्यमन्त्रीसँग पनि शिष्टाचार भेट गरेका छन्। चारदिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ।
























