हिरोशिमामा ‘लाइभर’ MVP घोषणा : ५ मिनेटमै २ करोड येन टिप

जापानको हिरोशिमा सहरमा अनलाइन स्ट्रिमिङ गर्ने ‘लाइभर’ हरूमध्ये वर्षकै उत्कृष्ट व्यक्तिलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ।

यो कार्यक्रम हिरोशिमामा आधारित कम्पनी ‘थ्री लाइभ जापान’ ले आयोजना गरेको हो। कार्यक्रममा जापानका शीर्ष लाइभ स्ट्रिमरहरूबीच प्रत्यक्ष (लाइभ) प्रतिस्पर्धा गराइयो। दर्शकहरूले आफ्नो मनपर्ने स्ट्रिमरलाई ‘टिपिङ सिस्टम’ मार्फत क्रेडिट कार्ड वा ई–पेमेन्ट प्रयोग गरी सहयोग गर्न पाउँथे।

कम्पनीका प्रमुख एइया कुरोबे का अनुसार, केवल पाँच मिनेटको स्ट्रिमिङ प्रतिस्पर्धामा दर्शकहरूले करिब २ करोड येन (२० मिलियन येन) टिपिङमार्फत पठाए। उनले भने,

“हाम्रो अधिकांश, भन्नुपर्दा सबैजसो आम्दानी यस्तै टिपिङ प्रणालीमै आधारित छ।”

हाल यो कम्पनीसँग करिब १० हजार स्ट्रिमर आबद्ध छन्। केवल अगस्ट महिनामै ९०० नयाँ स्ट्रिमर कम्पनीमा जोडिएका छन्। कुरोबेका अनुसार, “स्ट्रिमिङ उद्योग अहिले निकै तातो छ, युवाहरू यसतिर तीव्र रूपमा आकर्षित भइरहेका छन्।”

यस वर्षको वार्षिक MVP उपाधि ओकायामा निवासी एरा–चान ले जितिन्। अहिले सामाजिक सञ्जालमार्फत जीविकोपार्जन गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढ्दो क्रममा रहेको छ।

कुरोबेका अनुसार, “हाम्रो कम्पनीमा पूर्णकालीन रूपमा दैनिक करिब ६ घण्टा स्ट्रिम गर्ने स्ट्रिमरहरूको औसत मासिक आम्दानी करिब १६ लाख ८० हजार येन (TikTok Live मा) पुगेको छ। अब यो पेशा मजाक होइन, स्थायी रोजगारीको विकल्प बनेको छ।”

एरा–चानले पनि आफ्नो यात्राबारे भावनात्मक रूपमा भनिन्,

“म जनवरीमा मात्रै २७० घण्टा भन्दा बढी स्ट्रिम गरेँ। जीवनकै सबै उर्जा लगाएँ, कहिलेकाहीँ मानसिक रूपमा धेरै कठिन भयो। बाहिरबाट चम्किलो देखिए पनि भित्र धेरै संघर्ष छ — र मैले धेरै पटक रुँदै सहनु पर्‍यो।”

कुरोबेले भने, “लाइभ स्ट्रिमिङ अब भविष्यको नयाँ ‘आइडल संस्कृतिको’ रूपमा विकसित हुँदैछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0