
जापान, नोभेम्बर ४ को बिहान जापान सरकारले “जापान वृद्धि रणनीति मुख्यालय” (Japan Growth Strategy Headquarters) को पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा सम्पन्न गर्यो। यो बैठक सबै मन्त्रीहरू सहभागी रहने स्थायी संयन्त्रका रूपमा गठन गरिएको हो, जसको उद्देश्य प्रधानमन्त्री साने ताकाइचीको “दृढ आर्थिक वृद्धि” (robust economic growth) लक्ष्यलाई व्यवहारिक रुप दिनु हो।
प्रधानमन्त्री ताकाइचीले बैठकमा घोषणा गरिन्,
“हामी आगामी वर्षको गर्मीमा नयाँ आर्थिक वृद्धि रणनीति तयार गर्नेछौं।”
सरकारले AI र जहाज निर्माण (Shipbuilding) सहित १७ क्षेत्रलाई लगानीका लागि प्राथमिकता क्षेत्रका रूपमा पहिचान गरेको छ। सोही दिन गठन गरिएको जापान ग्रोथ स्ट्राटेजी काउन्सिल मा विज्ञहरूको सहभागितासहित ती क्षेत्रमा छलफल र नीतिगत तयारी तीव्र बनाइने जनाइएको छ।
प्रधानमन्त्रीले जोड दिँदै भनिन्,
“जोखिम र सामाजिक चुनौतीहरूलाई सामना गर्न हामी आपूर्ति क्षमताको आधारभूत सुदृढीकरणतर्फ अग्रसर हुनेछौं।”
सरकारले “उत्तरदायी र सक्रिय वित्तीय नीति” अन्तर्गत बहुवर्षीय बजेट योजनामार्फत लगानी प्रवर्द्धन गर्ने, र रक्षा खरिद तथा सरकारी परियोजनामार्फत माग सिर्जना गर्ने योजना पनि अघि सारेको छ।
मुख्य रणनीतिक क्षेत्रहरूमा AI, सेमीकन्डक्टर, जहाज निर्माण, कन्टेन्ट उद्योग, अन्तरिक्ष प्रविधि, र आणविक संलयन ऊर्जा (fusion energy) समावेश छन्।
यस अन्तर्गत, सार्वजनिक–निजी लगानी प्रवर्द्धन, जनशक्ति विकास र “संकट व्यवस्थापनलगानी” जस्ता उपायहरू लागू गरेर आर्थिक सुरक्षालाई सुदृढ पार्ने तयारी भइरहेको छ।

























