जापानको कडा नीति पछि विदेशी: बासिन्दाको अवस्था बदलिँदै !

जापान सरकारले अवैध रूपमा बसिरहेका विदेशीहरूलाई हटाउने “शून्य अवैध बसोबास” नीति कडाइका साथ लागू गरेपछि सैतामा प्रिफेक्चरको कावागुची शहरमा धेरै परिवर्तन देखिन थालेको छ। कावागुची क्षेत्रमा टर्कीका कुर्दिश समुदायका मानिसहरू धेरै संख्यामा बस्दै आएका थिए, जहाँ पछिल्लो समय स्थानीय बासिन्दासँग झगडा, हुलदंगा र उपद्रवका घटना बढेका थिए।

स्थानीय पसल सञ्चालक र बासिन्दाहरूका अनुसार रातिको समयमा ठूलो आवाज गर्ने, रक्सी पिउने, सडकमा हुलहुज्जत गर्ने जस्ता गतिविधिका कारण प्रहरीलाई बारम्बार बोलाउनुपरेको थियो। केही परिवारहरू त असुरक्षाका कारण बसाइँ नै सर्न बाध्य भएका थिए।

यही बीच, जापान सरकारले अवैध रूपमा बसेका र स्वदेश फर्कन नमानेका विदेशीलाई जबरजस्ती देश निकाल्ने प्रक्रिया सुरु गर्‍यो। यस क्रममा कावागुचीका कुर्दिश समुदायका एक चर्चित व्यक्तिलाई पनि देश निकाला गरियो। त्यसपछि क्षेत्र पहिलेभन्दा शान्त भएको स्थानीयको भनाइ छ।

सरकारको कडाइपछि केही विदेशीहरू आफैँ आफ्नो देश फर्कन थालेका छन् भने केहीले कानुनी रूपमा बसोबासको भिसा परिवर्तन गर्ने प्रयास गरिरहेका छन्। कावागुचीमा टर्की नागरिकहरूको संख्या घट्दै गएको छ भने छिमेकी शहरतर्फ सर्दै जानेहरूको संख्या बढेको देखिन्छ।

सरकारको भनाइमा, यो नीति जापानको कानुन पालना गराउन र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न ल्याइएको हो। यसले अवैध बसोबास गर्ने विदेशीहरूलाई अब निर्णय लिन बाध्य बनाएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0