
रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार रातिसम्म चलेको एकता वार्ता सहमतिमा पुग्न सकेन। केही दिनदेखि निरन्तर संवाद र छलफल भए पनि अन्तिम समयमा पद बाँडफाँटको विषयले सहमति रोकिएको हो।
स्रोतका अनुसार कुलमान पक्षले पार्टीमा सहअध्यक्ष वा कार्यकारी सभापतिको जिम्मेवारी मागेको थियो। साथै प्रधानमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव पनि आएको थियो। तर यी विषयमा रवि र बालेन तयार नभएपछि वार्ता अगाडि बढ्न सकेन।
कुलमानसँग सहमति नजुटेपछि आइतबार बिहान रवि र बालेनबीच भने सात बुँदे एकता सम्झौता भएको थियो। त्यसपछि जेनजी युवाहरूको दबाबमा कुलमानसँग पुनः वार्ता गरियो। सहमति गराउन केही युवा नेताहरू मध्यरातिसम्म कुलमानको घर पुगेका थिए, तर अन्तिमसम्म कुरा मिल्न सकेन।
यसबीच कुलमान घिसिङले पोखरामा भएको जिल्ला भेलामा नयाँ दलहरू मिल्नुपर्ने बताएका थिए। उनले सम्मान र स्वाभिमान कायम राखेर सहकार्य गर्न आफू तयार रहेको पनि बताएका छन्।
रवि–बालेन–कुलमान एकताका पक्षमा दबाब दिँदै आएका हामी नेपालका संस्थापक सुदन गुरुङले पनि सहमति नजुटेकोप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत देशलाई विभाजन होइन, एकता आवश्यक भएको उल्लेख गर्दै सबै शक्तिहरू एकजुट हुन आग्रह गरेका छन्।
आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले आज बिहानसम्म सहमतिको प्रयास गरिने बताइएको छ। समयभित्र सहमति जुट्न नसके तीनै पक्ष अलग–अलग चुनावी बाटोमा जाने सम्भावना रहेको छ।

























