४७ वर्षपछि परिवर्तन हुँदै जापानको भिसा नीति, शुल्क ५ गुणासम्म बढ्ने

जापान सरकारले विदेशी नागरिकहरूका लागि भिसा शुल्क उल्लेख्य रूपमा बढाउने निर्णय गरेको छ। निक्केई समाचार संस्थाका अनुसार जापान सरकारले सन् २०२६ देखि लागू हुने गरी विदेशीहरूका लागि भिसा शुल्क पाँच गुणासम्म बढाउने नीति स्वीकृत गरेको हो।

डिसेम्बर २६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट योजनामार्फत यो व्यवस्था लागू गर्ने निर्णय गरेको बताइएको छ। नयाँ नीतिअनुसार हाल ३ हजार येन रहेको ‘सिंगल इन्ट्री’ भिसा शुल्क बढेर १५ हजार येन पुग्नेछ भने ‘मल्टिपल इन्ट्री’ भिसाको शुल्क करिब ३० हजार येन बनाइने प्रस्ताव गरिएको छ।

सरकारको अनुमानअनुसार भिसा शुल्क वृद्धि गरेपछि जापानले वार्षिक करिब १ खर्ब २० अर्ब येन राजस्व संकलन गर्न सक्नेछ। जापानमा सन् १९७८ पछि पहिलो पटक भिसा शुल्क परिमार्जन हुन लागेको हो। लामो समयसम्म शुल्क नबढाइएकै कारण अन्य पश्चिमा मुलुकहरूको तुलनामा जापानको भिसा शुल्क कम रहेको थियो।

जापानी अधिकारीहरूले अनावश्यक, अपूरो वा गलत विवरणसहित पेश हुने भिसा आवेदनहरू नियन्त्रण गर्न शुल्क वृद्धि आवश्यक रहेको बताएका छन्। यो निर्णयले जापान जान चाहने नेपाली कामदार, विद्यार्थी र पर्यटकहरूमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

यद्यपि सरकारले नीति अघि बढाइसकेको भए पनि अन्तिम शुल्क निर्धारण सर्वसाधारणको सुझाव संकलनपछि मात्र गरिने जनाएको छ।

विदेशीहरूका लागि शुल्क बढाउने तयारी भइरहँदा जापानले आफ्ना नागरिकहरूका लागि भने सहुलियत दिने निर्णय गरेको छ। हाल १० वर्षे पासपोर्टका लागि लाग्दै आएको ९ हजार येन शुल्क घटाएर ७ हजार येन बनाइने जापान सरकारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0