
काठमाडौँ ।
‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगाना आज (शनिबार) विशेष पत्रकार सम्मेलन गर्दै छन्। टिकटक र सामाजिक सञ्जालमार्फत चर्चामा आएका ढुंगानाले दिउँसो १ बजे काठमाडौँको होटल एभरेस्टमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
जेनजी आन्दोलनपछि थप सक्रिय भएका ढुंगानाले देश गम्भीर राजनीतिक र सामाजिक संकटमा रहेको दाबी गर्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औंल्याउँदै आएका छन्। पत्रकार सम्मेलनको निमन्त्रणा पत्रमा उनले भनेका छन्,
“देश अहिले विषम परिस्थितिमा छ। भाद्र २३/२४ को ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानले दिलाएका उपलब्धिहरूको रक्षा र देशको अग्रगामी निकास आजको प्रमुख आवश्यकता हो। यसै सन्दर्भमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको हो।”
यसअघि उनले टिकटकमार्फत भिडियो सन्देश जारी गर्दै नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको र त्यसका लागि वार्ता समिति सक्रिय रहेको बताएका थिए। उनले भनेका छन्,
“राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी अहिलेको अवस्थामै निर्वाचनमा सहभागी हुन्छौं। जबसम्म हाम्रो न्यूनतम सर्त — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, वैदेशिक नेपालीलाई मतदान अधिकार, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय — पूरा हुँदैनन्, तबसम्म हामी निर्वाचनमा जाँदैनौं।”
ढुंगाना आजको पत्रकार सम्मेलनमा औपचारिक रूपमा नयाँ राजनीतिक दलको घोषणा गर्नेछन् कि छैनन् भन्ने विषयमा भने सम्मेलनपछि मात्रै स्पष्ट हुने छ।

























