राजदुवाली सडक अझै अवरुद्ध, वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि तिल्केनी–सिमलगोलाइ सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर दस दिन बितिसक्दा पनि सो सडक सञ्चालनमा आउन सकेको छैन। यस कारण यात्रु र यातायात व्यवसायीहरूलाई ठूलो असुविधा भएको छ।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ। तर खोलामा पानीको बहाव बढेको र आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सडक सञ्चालन गर्न नसकिएको उनले बताए।

“हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो। त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ,” भट्टराईले भने, “तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ।” उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको छ, जसलाई मंगलबारसम्म ल्याउने तयारी गरिएको छ। डाइभर्सन निर्माणका लागि अहिले चारवटा स्काभेटर परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालासँग स्थलगत निरीक्षण गरेर मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारी बिष्णुहरि नेपालले भने, “सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ। प्राविधिक पक्ष सडक डिभिजनले सम्हालेको छ र हामी समन्वयमा छौँ।”

गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको हो। उक्त बेलीब्रिज गत असारमा मात्रै निर्माण सम्पन्न गरिएको थियो। पुल बगाएपछि इलाम सदरमुकामको तिल्केनीबाट गोदकसम्म जोड्ने वैकल्पिक मार्गलाई प्रमुख विकल्पका रूपमा लिइएको हो।

हाल आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्ग हुँदै साना सवारी सञ्चालनमा आएका छन्। तर ठूला तथा मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए। उनका अनुसार तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

वर्षासँगै आएको पहिरोका कारण विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापा जिल्लासँग सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारीसाधनको आवतजावतमा समस्या परेको हो। जटिल भूसंरचनाका कारण तत्काल सडक खुलाउने सम्भावना नरहेको सडक डिभिजन प्रमुख भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0