भिडियो सम्पादनमा समर्पित विष्णु खड्का: पर्दा पछाडिको कलात्मक यात्रा

डेढ दशक भन्दा बढी समयदेखि नेपाली गीत–संगीत र चलचित्र क्षेत्रमा सक्रिय विष्णु खड्का हाल व्यावसायिक भिडियो सम्पादनमा व्यस्त छन्। सोलुखुम्बुको भकान्जे गाविस, सगर डाँडामा जन्मिएका खड्काले सानैदेखि कला क्षेत्रमा रुचि राख्दै आएका हुन्। उनले हालसम्म चर्चित गीत “जेल पनि सहुँला” सहित १,००० भन्दा बढी म्युजिक भिडियोहरूमा प्राविधिक रूपमा योगदान र ३ वटा चलचित्र सम्पादन गरिसकेका छन्।

हाम्रा प्रतिनिधि संगको छोटो संवाद:

प्रश्न: तपाईंलाई के भनेर सम्बोधन गर्ने — भिडियो सम्पादक वा अरु केही?

उत्तर: म आफूलाई भिडियो सम्पादक भन्न रुचाउँछु। अभिनय र छायांकनको अनुभव भए पनि मेरो प्रमुख परिचय भिडियो सम्पादन नै हो।

प्रश्न: भिडियो सम्पादनलाई किन रोज्नुभयो?

उत्तर: मेरो शारीरिक अवस्था र कम्प्युटरसँगको रुचिले गर्दा यो क्षेत्रमा लागें। मैले एरिना मल्टिमेडियाबाट डिजिटल फिल्म मेकिङमा डिप्लोमा गरेपछि सम्पादनलाई आफ्नो करिअर बनाएको हुँ।

प्रश्न: पर्दा अगाडि होइन, पछाडि काम गर्न रुचाउनुको कारण?

उत्तर: सुरुमा अभिनयमा रुचि थियो, केही भिडियोमा अभिनय पनि गरेँ। तर क्षेत्र भित्र प्रवेश गरेपछि थाहा भयो—एक भिडियो सफल बनाउन निर्देशक, छायाँकार, सम्पादक, लोकेसन जस्ता प्राविधिक पक्षहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। त्यसैले म प्राविधिक भूमिकामा समर्पित भएँ।

प्रश्न: भिडियो सम्पादनमा के–के जिम्मेवारी पर्दछन्?

उत्तर: म्युजिक भिडियोमा सम्पादकले फुटेज काटछाँट, कलर ग्रेडिङ, कहिलेकाहीँ पोस्टर डिजाइन पनि गर्छ। चलचित्रको कुरा गर्दा, कामहरू विभाजित हुन्छन्—जस्तै ट्रेलर बनाउने, पोस्टर डिजाइन गर्ने, कलरिस्ट आदि।

प्रश्न: तपाईंले सम्पादन वा पोस्टर बनाउनु भएका केही चर्चित गीतहरू के–के हुन्?

उत्तर:
मैले सम्पादन, कलर वा पोस्टरको काम गरेका चर्चित गीतहरूमा यी प्रमुख छन्:

जेल पनि सहुँला

रुमालै चिनो धोई धोई

हिमाली भेगमा

जुन र तारा

पानीको फोका जस्तै २

मेरी इज्जु

तिमी आउन सक्छौ

शिरफुल

रुमालै छ चिनो
हालसम्म मैले १,००० भन्दा बढी म्युजिक भिडियोहरूमा प्राविधिक योगदान दिइसकेको छु।

प्रश्न: अहिलेसम्मका प्रमुख उपलब्धिहरू के–के छन्?

उत्तर:
मेरो सम्पादन कार्यको कदर गर्दै विभिन्न राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छु, जसमध्ये प्रमुख यस्ता छन्:

११औं म्युजिक खबर अवार्ड

ज्योति फिल्म्स म्युजिक अवार्ड (पहिलो र तेस्रो संस्करण)

विराट फिल्म्स म्युजिक अवार्ड

दोस्रो ओएस नेपाल म्युजिक अवार्ड

हिमालयन इन्टरनेशनल म्युजिक अवार्ड

बक्स अफिस म्युजिक अवार्ड

AMS National Honour & Award २०७९

बोस्टर म्युजिक अवार्ड कलाकार सम्मान

ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७७

सन्ध्या फाउन्डेशन/फापरे फिल्म्स सम्मान

राष्ट्रिय संगीतकर्मी संघ सम्मान २०८०

एक सिर्जनशील व्यक्तिका लागि यस्ता सम्मानहरू नै सबैभन्दा ठूलो प्रेरणा हुन्।

प्रश्न: अहिलेको डिजिटल युगमा नेपाली संगीत बजार कस्तो छ?

उत्तर: अहिले डिजिटल बजार नै मुख्य प्लेटफर्म हो। क्यासेट/सिडीको युग समाप्त भइसकेको छ। डिजिटल बुझ्नेलाई राम्रो आम्दानी पनि सम्भव छ, तर धेरै कलाकार युट्युब अपलोडसम्म सीमित छन्।

प्रश्न: भिडियो सम्पादन पेशाबाट जीविका चलाउन कत्तिको सहज छ?

उत्तर: मेरो अनुभवमा, यदि लगनशीलता र निरन्तरता छ भने यो पेशाबाट सहज जीवनयापन गर्न सकिन्छ। म आफैं सर्भाइभ गरिरहेको छु।

प्रश्न: नेपाली भिडियो निर्माणमा कत्तिको प्रतिस्पर्धा छ?

उत्तर: प्रतिस्पर्धा त सबै क्षेत्रमा छ। सफललाई देखेर धेरैले यो पेशा अपनाउँछन्। तर यो स्वस्थ प्रतिस्पर्धा हो — एक–अर्काको काम खोस्ने भन्दा सबै आ–आफ्नो तरिकाले अघि बढिरहेका छन्।

प्रश्न: एउटा राम्रो भिडियो बन्न के–के कुरामा ध्यान दिनुपर्छ?

उत्तर:
राम्रो भिडियोको लागि मुख्य कुराहरू:

गीत नै राम्रो हुनु

निर्देशकको स्पष्ट कन्सेप्ट

छायाँकारको सशक्त काम

कलाकारको अभिनय

सम्पादकको उचित काटछाँट र कलर

कथाअनुसारको लोकेसन

यी सबै पक्ष मिल्दा मात्र उत्कृष्ट भिडियो बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0