
जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा रहेकी एलडिपी नेतृ साने ताकाइचीको राजनीतिक यात्रा संकटमा परेको छ। २६ वर्ष लामो गठबन्धनपछि कोमेइटोले एलडिपीसँग सम्बन्ध विच्छेद गरेपछि ताकाइचीको बहुमतको सम्भावना घटेको हो।
प्रधानमन्त्री बन्न ताकाइचीलाई संसदमा २३३ सिटको समर्थन चाहिन्छ, तर एलडिपीसँग हाल १९६ सिट मात्र छन्। कोमेइटोको २४ सिट गुमेपछि, एलडिपी अल्पमतमा परेको छ।
यसैबीच विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) ले सरकार परिवर्तनको अवसर भन्दै साझा उम्मेदवारको तयारी थालेको छ। सिडिपी नेता योशिहिको नोडाले डेमोक्रेटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुख युइचिरो तमाकीलाई साझा उम्मेदवार बनाउन सकिने संकेत दिएका छन्। तर सिडिपी र डिपिपीबीच नीति मतभेद छन्।
कोमेइटोले एलडिपीले चन्दा घोटालामा संलग्न नेतालाई पद दिएर सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोप लगाउँदै गठबन्धन तोडेको हो। बौद्ध संस्था सोका गक्काईको समर्थन पाएको कोमेइटो सानो भए पनि प्रभावशाली पार्टी हो। विश्लेषकहरूका अनुसार कोमेइटोको सहयोग बिना एलडिपीका करिब २०% सांसदहरू सिट गुमाउन सक्छन्।
विपक्ष एकमत भए ताकाइचीको सम्भावना कमजोर हुन्छ। तर विपक्ष विभाजित रहेमा उनले प्रधानमन्त्री बन्ने मौका अझै बाँकी रहन सक्छ।
























