
नेपाल प्रहरी सेवामा इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) तथा वरिष्ठ गीतकार टेक तामाङले हालै नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नो टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार–हजार हार हुन्छ’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
सत्यराज आचार्यको स्वर रहेको यस गीतमा संगीत राजकुमार बगरले भरेका छन् भने सञ्जिव बराइलीले एरेन्ज गरेका छन्। म्युजिक भिडियोमा चर्चित अभिनेता सरोज खनाल र यु–२० राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूले अभिनय गरेका छन्। भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।
गीतले हार र जीत जीवनका दुई पाटा हुन् भन्ने जीवनदर्शन प्रस्तुत गर्दछ। “जित्नेहरुको पनि कहिलेकाहीँ हार हुन्छ” भन्ने सन्देशमार्फत यसले जीवनमा आत्तिनु वा मात्तिनु नहुने, सुख–दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने र सपनाहरू बुन्न कहिल्यै नछोड्नुपर्ने सन्देश दिएको छ।
यसअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नेपाली गीत–संगीत इतिहासमा एक महत्वपूर्ण कार्यक्रमका रूपमा दर्ज भएको थियो। गीतकार तामाङका यसअघि ‘नजिक भएर पनि…’, ‘तिमीलाई माया गर्छु’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ लगायतका आधुनिक, राष्ट्रिय र सेलो शैलीका गरी करिब १ हजारभन्दा बढी गीत रेकर्ड र प्रकाशित भइसकेका छन्।


























