चीनको रेयर अर्थ प्रभुत्वबीच जापान–अष्ट्रेलिया ऐतिहासिक सहमति!

चीनको ‘रेयर अर्थ’ (दुर्लभ खनिज) आपूर्तिमा एकाधिकार र मध्यपूर्वमा जारी तनावका कारण ऊर्जा तथा कच्चा पदार्थ आपूर्तिमा चुनौती बढेपछि जापान र अष्ट्रेलियाले रणनीतिक साझेदारी अझ बलियो बनाएका छन्।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको उच्चस्तरीय वार्तामा जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज बीच महत्वपूर्ण खनिज, ऊर्जा र खाद्य सुरक्षामा सहकार्य गर्ने सहमति भएको हो।

वार्तापछि दुवै देशले ‘आर्थिक सुरक्षा’ सम्बन्धी संयुक्त घोषणापत्रसहित पाँचवटा सम्झौतामा हस्ताक्षर गरेका छन्। विशेषगरी इलेक्ट्रिक गाडी र सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक रेयर अर्थ सामग्रीमा चीनमाथिको निर्भरता घटाउने विषयमा छलफल भएको छ।

जापानले चीनमाथिको निर्भरता घटाउन अष्ट्रेलियालाई प्रमुख साझेदारका रूपमा हेरेको छ। अष्ट्रेलिया जापानको मुख्य तरल प्राकृतिक ग्यास (LNG) आपूर्तिकर्ता पनि हो, जसले ऊर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ।

साथै सुरक्षा क्षेत्रमा पनि सहकार्य बढाउँदै अष्ट्रेलियाका लागि जापानमा निर्मित ‘मगामी–क्लास’ स्टिल्थ फ्रिगेट जहाज सम्झौता, साइबर सुरक्षा र संयुक्त सैन्य अभ्यासलाई अघि बढाउने सहमति भएको छ।

यो भ्रमण जापान–अष्ट्रेलिया मैत्री तथा सहकार्य सन्धिको ५०औँ वर्षगाँठको अवसरमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0