अमेरिकी प्रभुत्वको विरोध गर्ने राष्ट्रपति मादुरो अमेरिकी निशानामा किन परे ?

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिका विरोधी राजनीतिबाट उदाएका प्रमुख नेता हुन् । ल्याटिन अमेरिकामा समय–समयमा बलियो बन्दै आएको अमेरिका विरोधी धारको प्रतिनिधित्व गर्ने पात्रका रूपमा मादुरोलाई हेरिन्छ । उनको राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको विरोधमा केन्द्रित रहेको छ ।

मादुरोको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको हो । उनी मध्यम वर्गीय परिवारमा हुर्किए । औपचारिक उच्च शिक्षाभन्दा श्रमिक जीवनले उनलाई राजनीतितर्फ डोर्‍यायो । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा उनी ट्रेड युनियन आन्दोलनमा सक्रिय भए । यही अनुभवले सामाजिक असमानता र विदेशी प्रभुत्वप्रति उनी संवेदनशील बने ।

१९९० को दशकमा ह्युगो चाभेजसँग नजिकिएपछि मादुरोको राजनीतिक यात्रा तीव्र बन्यो । चाभेजको समाजवादी, साम्राज्यवाद विरोधी र अमेरिका विरोधी विचारधाराले उनलाई दृढ बनायो । चाभेज शासनकालमा उनी विदेशमन्त्री बनेर अमेरिकी विदेश नीतिको खुलेर आलोचना गरे ।

सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बने । त्यसपछि अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध झन् तनावपूर्ण भयो । अमेरिकी सरकारले मादुरो सरकारलाई अलोकतान्त्रिक भन्दै कडा आर्थिक प्रतिबन्ध लगायो । ती प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा परेको छ । मादुरो सरकारले भने यसलाई अमेरिकी नेतृत्वको ‘आर्थिक युद्ध’ भनेर व्याख्या गर्दै आएको छ ।

मादुरो समाजवादी नीति र राज्यको बलियो भूमिकामा विश्वास गर्छन् । तर उनको शासनकालमा सत्ता केन्द्रित भएको, विपक्षीमाथि दमन बढेको र चुनावप्रति प्रश्न उठेको आरोप पनि लाग्दै आएको छ । समर्थकका लागि उनी विदेशी हस्तक्षेपविरुद्ध उभिएका नेता हुन् भने आलोचकका लागि उनी विवादास्पद शासक मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0