
जापानको उत्तरी इवाते प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएपछि जारी गरिएको सुनामी चेतावनी हटाइएको छ।
जापान मौसम विभागका अनुसार आइतबार साँझ ५:०३ बजे गएको भूकम्पको केन्द्र इवाते नजिकैको समुद्री क्षेत्र थियो, जसको गहिराइ करिब १० किलोमिटर थियो। सुरुमा सुनामीको चेतावनी जारी गरिएको भए पनि राति ८ बजेपछि हटाइएको हो।
प्रधानमन्त्री सानाए ताकाइचिले नागरिकहरूलाई तटीय क्षेत्रबाट टाढा रहन र सम्भावित पराकम्पनप्रति सतर्क रहन अनुरोध गरेकी छन्।
भूकम्पपछि केही क्षेत्रमा बिजुली कटौती भएको र तोहोकु शिन्कानसेन रेलसेवा केही समयका लागि रोकिएको थियो। तर, ओनागावा आणविक ऊर्जा केन्द्रमा कुनै क्षति नभएको तोहोकु विद्युत् कम्पनीले जनाएको छ।
प्रशान्त तटीय क्षेत्रमा सानो सुनामी देखिए पनि ठूलो क्षति वा हताहतको समाचार आएको छैन। मौसम एजेन्सीले आगामी एक हप्तासम्म पराकम्पनको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

























