
जापानमा आइतबार बेलुकी ठूलो भूकम्प गएको छ। जापान मौसम विभागका अनुसार भूकम्पको तीव्रता ६.७ म्याग्निच्युड मापन गरिएको हो। भूकम्पको केन्द्र इवाटे प्रान्तको समुद्र नजिक रहेको बताइएको छ।
भूकम्पपछि करिब एक मिटर उचाइको सुनामी आउन सक्ने भन्दै तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई सतर्क रहन भनिएको छ।
अमेरिकी भूवैज्ञानिक संस्थाले पनि भूकम्पलाई ६.८ म्याग्निच्युडको शक्तिशाली बताएको छ। जापानको राष्ट्रिय टिभी एनएचकेले समुद्रमा साना छालहरू देखिएको र जनतालाई समुद्र तटबाट टाढा र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ।
यो त्यही क्षेत्र हो, जहाँ सन् २०११ मा ९.० म्याग्निच्युडको ठूलो भूकम्प र सुनामी आएको थियो। त्यस समयमा करिब १८ हजार ५०० मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो।
जापान यस्तो क्षेत्रमा पर्छ जहाँ हरेक वर्ष करिब १५ सय भन्दा बढी भूकम्प आउने गर्छ। धेरैजसो साना भए पनि केही शक्तिशाली भूकम्पले ठूला क्षति पुर्याउने गर्छन्।

























