
टोकियो।
जापानमा आर्थिक वर्ष २०२५ मा भालुको आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। पछिल्लो समय देशभर भालुसँग सम्बन्धित घटनामा उल्लेख्य वृद्धि भएको जापानको वातावरण मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षमा मात्रै भालु आक्रमणबाट एक सयभन्दा बढी मानिस घाइते भएका छन्। मन्त्रालयका अनुसार भालु आक्रमणका कारण मृत्यु हुनेको यो सङ्ख्या सन् २००६ देखि रेकर्ड राख्न सुरु गरिएपछि सबैभन्दा बढी हो।
पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तमा भएको हो, जहाँ ३८ वर्षीय एक पुरुषलाई भालुले आक्रमण गरी मारेको पुष्टि भएको छ।
भालुको आक्रमण नियन्त्रणमा कठिनाइ भएपछि अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले सेनाको सहयोगको आह्वान गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत स्थानीय प्रशासनले अब स्थिति नियन्त्रण गर्न नसक्ने अवस्था आएको जनाउनुभएको हो।
छिमेकी इवाटे प्रान्तमा पनि अप्रिलदेखि ३० जनाभन्दा बढी मानिस भालुको आक्रमणमा परेका छन्।
जापानमा हाल भालु आक्रमण नियन्त्रण प्रमुख चुनौती बनेको छ, र सरकार तथा स्थानीय प्रशासनले वन क्षेत्र नजिकका बस्तीहरूमा चेतावनी जारी गरेका छन्।

























