
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच कुपण्डोलमा वार्ता भइरहेको छ।
वार्ता चलिरहेका बेला त्यहाँ पुगेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताबीच सहमति हुनुपर्छ भन्दै वार्तास्थलको गेटमा ताला लगाइदिएका छन्। गुरुङका अनुसार सहमति नभएसम्म गेट खोलिने छैन।
उनले भनेका छन्, “रवि र बालेन दुवै भित्र हुनुहुन्छ। उहाँहरू मिलेपछि मात्र गेट खुल्छ। त्यसैले हामीले ताला लगाएका हौँ।”
गुरुङले आफूहरू गेटमै बसेर निगरानी गरिरहेको पनि बताए। “हामी यहाँ गार्ड जस्तै बसेका छौँ। मिलेपछि मात्रै बाहिर आउन दिन्छौँ,” उनले भने।
सहमति नहुँदासम्म चाबी आफूसँगै राख्ने उनले स्पष्ट पारेका छन्।
यसअघि बुधबार भएको भेटमा सामान्य कुराकानी मात्रै भएको थियो। तर आजको वार्तामा भने वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक बनाएर अघि बढ्ने विषयमा ठोस निष्कर्ष निकाल्न दुवै नेतामाथि दबाब बढेको बताइएको छ।





















