
चीनले जापानसँग बढ्दो राजनीतिक तनावलाई दीर्घकालीन बन्नसक्ने संकेत दिँदै आफ्ना घरेलु एयरलाइन्सलाई मार्च २०२६ को अन्त्यसम्म जापान उडान कटौती गर्न आदेश दिएको छ। यो निर्देशन जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवान सम्भावित आपतकालबारे संसदमा व्यक्त गरेको पछिल्लो अभिव्यक्तिपछि आएको हो।
यसअघि नै चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गरिसकेकाले चीन–जापान यात्रा माग लगातार घट्दै आएको थियो। नयाँ प्रतिबन्धका कारण यो गिरावट आउँदो चन्द्र नयाँ वर्ष अवधिसम्म पनि जारी रहने अनुमान छ।
यात्रुहरूले टिकट रद्द गर्ने प्रवृत्ति अप्रिल २०२६ सम्म फैलिएको छ। डिसेम्बरमा चीनबाट जापानतर्फका उडानहरू अक्टोबरको तुलनामा २०% भन्दा बढीले घटेका छन्, र वर्षको अन्त्यसम्म ५०% भन्दा बढी रुट निलम्बित हुने अपेक्षा गरिएको छ। हालसम्म सांघाई, ग्वाङ्झाउ र नान्जिङ जस्ता मुख्य सहरहरूबाट जापानका लोकप्रिय गन्तव्य (नागोया, फुकुओका, साप्पोरो) जाने १२ भन्दा बढी उडानहरू स्थगित भइसकेका छन्, र भविष्यमा थप कटौतीको सम्भावना रहेको बताइएको छ।

























