
२७ कात्तिक, बुटवल ।
बुटवलस्थित सुप्रिम सहकारी संस्था ठगी र संगठित अपराधको मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज (बिहीबार) उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइमा पर्न लागेको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुनेछ। गत २० कात्तिकमा अदालतले दुवै अभियुक्तको “सुरु मिसिल” माग गर्ने आदेश दिएको थियो, जुन प्राप्त भएपछि आजको पेशी तोकिएको हो।
यसअघि १३ कात्तिकमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो। आजको पेशी यथावत रहने वा पुनः सारिने विषयमा भने अझै स्पष्टता आएको छैन।
उच्च अदालतले यसअघि दुवै अभियुक्तको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ सुनुवाइ गर्नुपर्ने आदेश दिएको थियो। अदालतले रवि लामिछाने र छविलाल जोशी दुबैको फाइल एकैपटक पेश गर्न निर्देशन दिएको थियो।
सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा अभियोगपत्र दायर गरिएको छ। लामिछाने र जोशी दुवैले आफ्ना हिस्साको रकमबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका छन्।
तर, अदालतले दुवै अभियुक्तको ठ्याक्कै जिम्मेवारी कति भन्ने स्पष्ट नहुँदा रिहा गर्न नमिल्ने आदेश जारी गरेको थियो।
हाल रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ भने छविलाल जोशी भने अझै पनि भैरहवा कारागारमै रहेका छन्।
गत वर्षको जेनजी प्रदर्शनका क्रममा बुटवल उच्च अदालत परिसरमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशीको मुद्दासम्बन्धी फाइलहरू सुरक्षित रहेका थिए।

























