
तिहारलाई लक्षित गर्दै असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। चलचित्र विकास बोर्डको ‘बक्स अफिस सिनेमा’का अनुसार, प्रदर्शनको पहिलो तीन दिनमै फिल्मले रु २ करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको कारोबार गरेको छ।
अभिनेता अनमोल केसीका अनुसार, चलचित्रले पहिलो दिन रु ७२ लाख ५९ हजार ४०८, दोस्रो दिन रु ८६ लाख ३८ हजार २१० र तेस्रो दिन रु ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको हो।
दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका केसीले करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्मले दर्शकको अपेक्षा पूरा गरेको बताए। उनले भने, “मैले जब कुनै चलचित्रमा काम थाल्छु, त्यसको प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन। ‘जेरी अन टप’मा दिएको समय र लगानीले आज परिणाम देखाएको छ, यो हाम्रो मेहनतको फल हो।”
उनका अनुसार, तीन दिनमै ६० हजारभन्दा बढी दर्शकले फिल्म हेरेका छन्। चलचित्रमा अनमोलसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन्।
सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। चलचित्रको कथा हेमराज विसी, पटकथा विश्वास तिम्सिना, र छायाङ्कन दुलिप रेग्मीले गरेका छन्।
फिल्मको वितरण रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले संयुक्त रूपमा गरेका हुन्।
























