
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अबदेखि भक्तपुरको गुण्डुमा बस्ने भएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा बालकोटस्थित उनको निवासमा आगलागी भई क्षति पुगेपछि, ओलीले त्यहाँ फर्कने निर्णय नगरी नयाँ आवास निर्माण गर्न लागेका हुन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, भक्तपुरको गुण्डु क्षेत्रमा ओलीका लागि नयाँ आवास निर्माणको तयारी सुरु भइसकेको छ। बस्नेतले जनाएअनुसार, यो घर ‘ओलीकुटी’ नामक परियोजनाको रूपमा निर्माण गरिँदैछ, जुन स्थानीय बासिन्दाको भावनात्मक पहलमा अघि बढाइएको हो।
‘ओलीकुटी निर्माणका लागि म संयोजकको रूपमा रहनेछु,’ बस्नेतले बताएका छन्। उनका अनुसार, स्थानीय समुदायले आफ्नै स्रोत र श्रममार्फत यो आवास निर्माण गर्ने निर्णय लिएका छन्।
भवनको डिजाइन र स्वरूपबारे सुझाव सङ्कलनको काम पनि सुरु भइसकेको छ। ‘ओलीकुटी कस्तो देखिन सक्छ?’ भन्ने विषयमा देशभरबाट सुझाव र समर्थन आइरहेको बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले घरका केही सम्भावित नमुना डिजाइनहरू पनि सार्वजनिक गरेका छन्।
स्मरण रहोस्, अध्यक्ष ओलीले बालकोटस्थित आफ्नो निवास मरणोपरान्त राज्यलाई हस्तान्तरण गरिसकेका छन्। त्यसपछि अब उनी स्थायी रूपमा गुण्डुमै बस्ने तयारीमा छन्।

























