
काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा र परीक्षण सुरु गरेको छ।
कार्यक्रमका बीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी थिइन्। उनले कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको रक्तचाप जाँच, सेवन गरिरहेका औषधिको विवरण संकलन र मेडिकल हिस्ट्री लिने तथा आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिइन्।
उनका अनुसार स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा दिइनेछ भने, हिँडडुल गर्न नसक्ने, शारीरिक रूपमा अशक्त वा दीर्घ रोग भएका ज्येष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
सुनिता डंगोलले बताइन्, “आजबाट हामीले ७० वर्ष र सोभन्दा माथि उमेरसमूहका आमाबुबाहरूलाई घरघरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको शुभारम्भ गरेका छौँ। यसैक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था जाँच गर्न सर्वेक्षण पनि गरिँदैछ। यसले हाम्रो अगामी वर्षको नीति तथा कार्यक्रम साक्ष्यमा आधारित बनाउन सहयोग पुर्याउने विश्वास छ।”
महानगरपालिकाले विशेष गरी स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गर्न र आधारभूत उपचार उपलब्ध गराउन घरमै स्वास्थ्यकर्मी पठाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न थालेको जनाएको छ।





















