
जापानले पछिल्लो समय तीव्र रूपमा बढिरहेका भालु आक्रमण रोक्न हातहतियारसम्बन्धी कडा कानुन संशोधन गरी प्रहरीले आवश्यक परेमा भालुमाथि गोली चलाउन सक्ने व्यवस्था गरेको छ।
अप्रिलदेखि हालसम्म जनावरको आक्रमणमा १३ जनाको मृत्यु भइसकेको छ। भालुहरू घरमा पस्ने, विद्यालय नजिक घुम्ने र सुपरमार्केटमा तोडफोड गर्ने घटना दिनहुँजसो रिपोर्ट भइरहेका छन्।
वैज्ञानिकका अनुसार मानव जनसङ्ख्या घट्दै गएको र भालु संख्या तीव्र गतिमा बढ्दै गएको कारणले आक्रमणमा वृद्धि भएको हो।
अकिता र इवाटे जस्ता उत्तरी प्रान्तहरूमा भएको समारोहमार्फत प्रहरीले राइफललगायतका हतियार प्रयोग गर्न पाउने औपचारिक अनुमति पाएका छन्। यो नियम गत हप्ताको निर्णयपछि बिहीबारदेखि लागू भएको हो।
टोकियोस्थित अमेरिकी र बेलायती दूतावासहरूले पनि भालु देखिने क्षेत्रमा एक्लै नहिँड्न यात्रु र स्थानीयलाई चेतावनी दिएका छन्।
इवाटे हानामाकी एयरपोर्टमा भालुको बच्चा देखिएपछि रनवे एक घण्टा बन्द हुँदा दुई घरेलु उडान ढिलाइ भएको रिपोर्ट छ।
जापानले अकिता क्षेत्रमा सैनिक तैनाथ गर्न थालेको छ, तर सैनिकहरूलाई भालु सिकार गर्न भने अनुमति दिइएको छैन।

























