
ठोरी गाउँपालिका–५ अन्तर्गत आठघरे गाउँमा गाउँमै रहेका तथा विदेशमा बस्ने युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान कार्य सम्पन्न भएको छ।
लामो समयदेखि सडक बत्ती नहुँदा रातिको समयमा स्थानीयवासीलाई आवतजावत गर्न कठिन हुनुका साथै दुर्घटना र अन्य सुरक्षासम्बन्धी जोखिम रहने गरेको थियो। यही समस्या समाधान गर्न ‘आफ्नो गाउँ आफैं बनाऔँ’ अभियान सञ्चालन गरिएको हो।
अभियानका लागि विदेशमा रहेका आठघरेवासीले आर्थिक सहयोग गरेका थिए भने गाउँका युवा तथा स्थानीयवासीले श्रमदान, व्यवस्थापन र आवश्यक समन्वय गरेका थिए। गाउँका विभिन्न स्थानमा जडान गरिएका सडक बत्तीले रातिको आवतजावत सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
अभियानमा सहयोग गर्ने गाउँ तथा विदेशमा रहेका युवा, स्थानीयवासी, शुभेच्छुक र सहयोगीप्रति आयोजक समूहले आभार व्यक्त गरेको छ।
स्थानीय युवाहरूले अभियानलाई सडक बत्तीमा मात्र सीमित नराखी आगामी दिनमा गाउँदेखि प्रधानटोल जाने पुल, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सरसफाइसम्बन्धी काममा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।






















