
नेफिन कल्चरल फेस्टिभलको पहिलो दिन भव्य रूपमा सम्पन्न, भोलि राष्ट्रिय कलाकारको विशेष प्रस्तुति Nefin Festival Kansai 2026
जापानको अमागासाकी सिटीस्थित सेन्ट्रल पार्कमा सुरु भएको ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ को पहिलो दिन सेप्टेम्बर १८ मा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए आईसीसी सिनियर भाइस प्रेसिडेन्ट रबिन शेरचन सहभागी भएका थिए। कार्यक्रममा एनआरएनए अध्यक्ष सुवास लामिछाने, संयोजक नरेन्द्र थापा मगर, कार्यक्रम संयोजक अमर लामा लगायत विभिन्न व्यक्तित्वले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
पहिलो दिन विभिन्न संघसंस्था तथा जापानमा रहेका स्थानीय कलाकारले गीत, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए। विभिन्न समुदायको मौलिक नृत्य, भेषभूषा र सांस्कृतिक झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
महोत्सवमा नेपाली कला, संस्कृति, हस्तकला तथा नेपाली खानाका स्टलसमेत राखिएका छन्। कार्यक्रममा सहभागी दर्शकले जापानमै बसेर नेपालको विविध संस्कृति एकै ठाउँमा अनुभव गर्ने अवसर पाएका थिए।
दुईदिने महोत्सवको दोस्रो तथा अन्तिम दिन सेप्टेम्बर १९ मा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। नेपालका चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिलाई दोस्रो दिनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क रहेको छ।
महोत्सवबाट बचत हुने रकम नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिने आयोजकले जनाएको छ।




















