
जापानको कान्साई क्षेत्रमा नेपाली मौलिक कला, बहुजातीय संस्कृति र पहिचानको प्रवर्धनसँगै नेपालका बाढीपहिरो प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले ‘नेफिन कल्चरल फेस्टिभल कान्साई–२०२६’ को अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान, क्षेत्रीय समिति कान्साईको प्रस्तुतिमा हुने महोत्सव सेप्टेम्बर १८ र १९ गते ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित सेन्ट्रल पार्कमा आयोजना हुनेछ। कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र प्रवेश निःशुल्क रहने छ।
चर्चित कलाकारको विशेष प्रस्तुति
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आमन्त्रित रामजी खाँड, देवी घर्ती, टीका सानु र सम्झना लामिछाने लगायतका कलाकारले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।
उनीहरूसँगै जापानमा रहेका नेपाली प्रतिभा तथा जापानी कलाकारहरूको समेत सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहनेछ।
महोत्सव परिसरमा हिमाल, पहाड र तराई–मधेशसहित नेपालको विविध संस्कृति झल्काउने मौलिक नृत्य, परम्परागत भेषभूषा, झाँकी, हस्तकला तथा नेपाली परिकारका स्टलहरू रहने आयोजकले जनाएको छ।
संस्कृति र सहयोगको संगम
महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य नेपालमा हालै आएको रसुवा तथा भोटेकोशी क्षेत्रको बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्नु रहेको छ।
आयोजकका अनुसार महोत्सवबाट प्राप्त सम्पूर्ण मुनाफा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितहरूका लागि सहयोग गरिनेछ।
नेपालको मौलिक कला, संस्कृति र विविधतालाई जापानी तथा अन्य विदेशी समुदायसम्म पुर्याउँदै नेपाली समुदायबीचको आपसी सम्बन्ध थप बलियो बनाउने उद्देश्य पनि महोत्सवले राखेको छ।
विभिन्न संस्था तथा कम्पनीको सहकार्य
यस बृहत् महोत्सवका टाइटल स्पोन्सरमा रिया मनी ट्रान्सफर (Ria), क्योदाइ रेमिट्यान्स (KYODAI Remittance) र आइएमई (IME) रहेका छन्।
कार्यक्रमलाई अमागासाकी सिटी, स्थानीय जापानी सरकारी निकाय तथा विभिन्न व्यावसायिक संघ–संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। सेवा इन्टरनेशनल स्कुल इभेन्ट पार्टनरका रूपमा जोडिएको छ भने साकुरा एसियन एचडी र सफल मोशन पिक्चर्सले डिजिटल सहकार्य गरेका छन्।
‘संस्कृतिको शक्तिले जोडौँ, विपद् प्रभावित क्षेत्रमा आशा बाँडौँ’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको महोत्सवमा जापानवासी नेपाली तथा जापानी समुदायलाई परिवार, बालबालिका र साथीभाइसँग सहभागी हुन आयोजकले आग्रह गरेको छ।



















