जापानको कन्साईमा सेप्टेम्बर १८ र १९ मा ‘नेफिन सांस्कृतिक महोत्सव–२०२६’ हुने

जापान । नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र खानाको प्रवर्धन गर्ने उद्देश्यले जापानको कन्साई क्षेत्रमा ‘NEFIN Cultural Festival Kansai 2026’ आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको प्रस्तुतिमा आगामी सेप्टेम्बर १८ र १९, २०२६ मा दुईदिने सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

नेपालका विभिन्न आदिवासी जनजातिको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई जापानी तथा अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवले जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक आदानप्रदान र एकता अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सव ओसाका–कन्साई क्षेत्रअन्तर्गत ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित कान्दा नाकादोरी १–४ (〒660-0884), स्टेशनसँगै जोडिएको पार्कमा सञ्चालन हुनेछ। दुवै दिन कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ। महोत्सवमा सहभागी हुन प्रवेश निःशुल्क रहने आयोजकले जानकारी दिएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न समुदायका मौलिक नृत्य, संगीत, परम्परागत भेषभूषा, नेपाली खाना, सांस्कृतिक स्टल, हस्तकला तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन् । नेपालका हिमाल, पहाड र तराई–मधेशमा बसोबास गर्ने विभिन्न समुदायका सांस्कृतिक विविधता एउटै थलोबाट अवलोकन गर्न सकिने गरी कार्यक्रमको तयारी गरिएको छ ।

नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई जापानमा प्रवर्धन गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोड्ने माध्यमका रूपमा समेत महोत्सवलाई लिइएको छ । परम्परागत नृत्य, बाजागाजा, पोसाक र खानामार्फत नेपाली संस्कृतिको विविधता प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार महोत्सव नेपाली समुदायमा मात्रै सीमित नभई जापानी नागरिक तथा अन्य देशका नागरिकलाई समेत नेपाली कला र संस्कृतिसँग परिचित गराउने अवसर बन्ने अपेक्षा गरिएको छ । सांस्कृतिक कार्यक्रमसँगै नेपाली परिकार, हस्तकला तथा विभिन्न सांस्कृतिक सामग्रीसम्बन्धी स्टलसमेत महोत्सवमा रहनेछन् ।

कार्यक्रममा सेवा इन्टरनेशनल स्कुल इभेन्ट पार्टनरका रूपमा रहेको छ भने अमागासाकी सिटीले कार्यक्रमलाई सहयोग र साकुरा एसियन एच. डि. र सफल मोशन पिक्चर्स को डिजिटल सहकार्य रहेको छ । साथै विभिन्न संघसंस्था सह–आयोजक तथा सहयोगीका रूपमा महोत्सवमा जोडिएका छन् ।

आयोजकले जापानमा रहेका नेपाली समुदाय, जापानी नागरिक तथा नेपाली कला–संस्कृतिप्रति रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भएर नेपालको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा साथ दिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0