जापानमा महँगीको मार: गर्मी बिदा सुरु हुँदा जापानका कमजोर हजारौं परिवारमा खाद्य संकट!

जापानमा लगातार बढिरहेको महँगीका कारण आर्थिक रूपमा कमजोर परिवारहरू आफ्ना बालबालिकालाई पर्याप्त खाना उपलब्ध गराउनसमेत कठिन अवस्थामा पुगेका छन्। गैरनाफामूलक संस्था किड्स डोरले जुन १ देखि ८ सम्म गरेको सर्वेक्षणमा सहयोग प्राप्त गरिरहेका १,४४९ परिवार सहभागी भएका थिए। तीमध्ये ९० प्रतिशतभन्दा बढी एकल आमाले नेतृत्व गरेका परिवार थिए भने ९८ प्रतिशतले आफ्नो आर्थिक अवस्था कठिन रहेको बताएका छन्।

गर्मी बिदामा विद्यालयको खाजा बन्द भएपछि प्राथमिक र माध्यमिक तहका बालबालिका भएका १,०१२ परिवारमध्ये ६४ प्रतिशतले प्रत्येक छाकको खाना घटाउनुपर्ने बताएका छन्। त्यस्तै, ६१ प्रतिशतले मासु वा माछा कम दिनुपर्ने, ४७ प्रतिशतले तरकारी कम हुने र ४४ प्रतिशतले बालबालिकाले दिनमा तीन छाक खान नपाउने अवस्था आउन सक्ने बताएका छन्।

सर्वेक्षणमा ३८ प्रतिशत परिवारले आवश्यक हुँदा पनि एयर कन्डिसनरको प्रयोग धेरै सीमित गर्ने बताएका छन्। थप ६ प्रतिशतले लगभग प्रयोग नगर्ने र ४ प्रतिशतसँग एयर कन्डिसनर नभएको वा बिग्रिएको पाइएको छ। यसले अत्यधिक गर्मीमा बालबालिका र अभिभावकको स्वास्थ्यमा थप जोखिम उत्पन्न गर्न सक्ने चिन्ता बढाएको छ।

आर्थिक समस्याले अभिभावकको मानसिक स्वास्थ्यमा पनि असर पारेको छ। गर्मी बिदाबारे सोच्दा ४४ प्रतिशत अभिभावक बारम्बार गम्भीर रूपमा निराश हुने गरेका छन् भने समस्यामा पर्दा आधा अभिभावकसँग सल्लाह गर्ने व्यक्ति नै नभएको सर्वेक्षणले देखाएको छ।

किड्स डोरले न्यून आय भएका परिवारलाई तत्काल नगद तथा खाद्यान्न सहयोग दिन, विद्यालय बिदाका समयमा बालबालिकाका लागि निःशुल्क खाना उपलब्ध गराउन र विद्यालय तथा सार्वजनिक भवनलाई चिसो तथा सुरक्षित स्थानका रूपमा खुला गर्न जापान सरकारसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0