
जापानका ठूला कम्पनीहरूले कर्मचारीलाई दिने समर बोनस यस वर्ष इतिहासकै उच्च स्तरमा पुगेको छ।
जापान बिजनेस फेडेरेसन, केइदानरेनले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार ठूला कम्पनीहरूको औसत समर बोनस १,००८,७०६ येन पुगेको छ।
यो पहिलो पटक हो, जब जापानका प्रमुख कम्पनीहरूको औसत समर बोनस १० लाख येनको सीमा पार गरेको हो। तुलनात्मक तथ्यांक उपलब्ध भएको सन् १९८१ यता यो ऐतिहासिक स्तर मानिएको छ।
सर्वेक्षणमा १९ उद्योगका ११२ ठूला कम्पनी समेटिएका थिए। औसत बोनस गत वर्षको तुलनामा १.८८% ले बढेको बताइएको छ।
विश्लेषकहरूका अनुसार कम्पनीहरूको राम्रो आम्दानी, श्रमिक–व्यवस्थापनबीच भएको तलब वृद्धि सम्झौता र आधारभूत तलब बढेका कारण बोनस रकम पनि बढेको हो।
यो वृद्धि विशेषगरी ठूला कम्पनीका कर्मचारीका लागि सकारात्मक खबर हो। तर यो सबै जापानी कामदारको अवस्था होइन। साना कम्पनी, अंशकालीन कामदार, विदेशी कामदार र सेवा क्षेत्रमा काम गर्ने धेरै व्यक्तिले यति ठूलो बोनस नपाउने अवस्था पनि छ।
त्यसैले यो खबरले जापानको ठूलो कम्पनी क्षेत्र बलियो बन्दै गएको देखाए पनि, आम कामदारको आयमा समान रूपमा सुधार आएको छ कि छैन भन्ने विषय भने अझै महत्वपूर्ण प्रश्न बनेको छ।
विशेषज्ञहरूका अनुसार घरपरिवारको आय बढेमा आन्तरिक उपभोग बढ्न सक्छ। जापानले लामो समयदेखि उपभोग वृद्धि र तलब वृद्धि मार्फत अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरिरहेको छ।




















