जापानमा साइकलमा छाता अड्याएर चलाउनेहरू सावधान, ५ हजार येनसम्म जरिवाना लाग्न सक्ने !

जापानमा साइकल चलाउँदा छाता प्रयोग गर्नेहरूलाई नियमबारे सचेत रहन आग्रह गरिएको छ।

वर्षा वा घामबाट बच्न धेरै मानिसहरूले साइकलमा छाता अड्याउने स्ट्यान्ड प्रयोग गर्ने गर्छन्। तर केही प्रिफेक्चरमा यस्तो प्रयोगलाई जोखिमपूर्ण मानिएको छ।

मिई प्रिफेक्चरमा साइकलमा छाता स्ट्यान्ड प्रयोग गरेर यात्रा गर्न स्पष्ट रूपमा प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी, हातमा छाता समातेर साइकल चलाउनु भने जापानका सबै ४७ प्रिफेक्चरमा निषेध गरिएको छ।

यस्तो नियम उल्लङ्घन गर्ने व्यक्तिलाई ‘ब्लु टिकट’ प्रणालीअन्तर्गत ५ हजार येनसम्म जरिवाना हुन सक्ने बताइएको छ।

टोकियो, ओसाका, आइची र फुकुओका लगायतका क्षेत्रमा पनि छाता स्ट्यान्डले साइकल चलाउन बाधा पुर्‍याएको वा चौडाइ अत्यधिक बढाएको ठहरिए कारबाही हुन सक्छ।

प्रहरीका अनुसार छाता प्रयोग गर्दा साइकल असन्तुलित हुन सक्छ। साथै चालकको दृष्टि अवरुद्ध हुने तथा पैदलयात्रीसँग ठोक्किने जोखिम पनि बढ्ने गर्दछ।

अधिकारीहरूले वर्षा वा घामका बेला साइकल चलाउँदा रेनकोट वा अन्य सुरक्षित विकल्प प्रयोग गर्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0