
टोकियो – जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनी दोस्रो विश्वयुद्धका अपराधहरूमा ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका लागि विशेष रूपमा चिनिन्छन्।
सोसल डेमोक्रेटिक पार्टीकी नेतृ मिजुहो फुकुसिमाले एक्समार्फत निधनको जानकारी दिइन्। मुरयामा ओइटा सिटीस्थित अस्पतालमा बुढ्यौलीका कारण निधन भएका हुन्।
सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवमा उनले जारी गरेको वक्तव्यमा युद्धका पीडाहरूप्रति ‘गहिरो नम्रता र माफी’ व्यक्त गरिएको थियो। यो वक्तव्य जापानको औपचारिक युद्ध–माफीको आधार बन्यो।
मुरयामा १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री बनेका थिए। उनका कार्यकालमा काबे भूकम्प र टोकियो सबवेमा भएको सारिन ग्यास आक्रमणजस्ता संकटहरू भए।
सन् १९४४ मा उनी शाही सेनामा भर्ती भएका थिए। पछि उनले सेनामा बिताएको समय ‘डरको वातावरण’ भएको बताएका थिए।
उनी जापानी राजनीतिमा आत्मसमिक्षा र मानवताको आवाजका रूपमा सम्झिइन्छन्। उनको निधनसँगै एक युगको अन्त्य भएको मानिएको छ।

























