
जापानको अमागासाकी सिटीस्थित सेन्ट्रल पार्कमा सेप्टेम्बर १८ र १९ मा आयोजना गरिएको ‘नेफिन कल्चरल फेस्टिभल कान्साई २०२६’ सभ्य, भव्य र सफल रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको महोत्सवमा नेपाली कला, संस्कृति, मौलिक नृत्य, परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी, नेपाली खाना तथा विभिन्न समुदायको पहिचान प्रस्तुत गरिएको थियो।
पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ आईसीसीका वरिष्ठ उपाध्यक्ष रबिन शेरचन रहेका थिए। कार्यक्रममा एनआरएनए अध्यक्ष सुवास लामिछाने, नेफिन कान्साई जापानका संयोजक नरेन्द्र थापा मगर, व्यवस्थापन समिति संयोजक प्रितम गोले, कार्यक्रम संयोजक तथा सल्लाहकार अमर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
पहिलो दिन विभिन्न संघसंस्था तथा जापानमा रहेका स्थानीय कलाकारहरूले गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने दोस्रो दिन नेपालबाट आएका चर्चित राष्ट्रिय कलाकार रामजी खाँड, देवी घर्ती र टीका सानुले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले महोत्सवको माहोललाई थप उत्साहपूर्ण र आकर्षक बनाएको थियो।
कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, कलाकार, स्वयंसेवक तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको महोत्सवले जापानमा रहेका नेपालीलाई आफ्नो कला, संस्कृति र पहिचानसँग जोड्ने अवसरसमेत दिएको थियो।
आयोजकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, कलाकार, स्वयंसेवक, सहयोगी तथा सहभागीप्रति धन्यवाद व्यक्त गरेको छ।





























