
विश्वभर रहेका नेपाली डायस्पोरालाई एकताबद्ध गर्दै आपसी सहकार्य बढाउने उद्देश्यले अघि बढिरहेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) को जापान राष्ट्रिय संगठन गठन भएको छ
अगस्ट ९ मा यूएनडीओ जापानलाई संस्थाको सातौँ राष्ट्रिय संगठनका रूपमा अघि बढाइएको छ। नवगठित जापान संगठनको सभापतिमा नारायण स्टिभेन्स मनोनित भएका छन्।
यूएनडीओले विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै सञ्जालमा जोड्दै समुदायबीच सहकार्य, सम्पर्क र आपसी समन्वय बढाउने उद्देश्य राखेको छ।
जापानमा पनि ठूलो नेपाली समुदाय बसोबास गर्दै आएको अवस्थामा नयाँ संगठनले सामाजिक गतिविधि, समुदायबीचको समन्वय तथा अन्तर्राष्ट्रिय नेपाली सञ्जालसँग जापानका नेपालीलाई जोड्ने भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अहिले सभापति नियुक्त गरिएको भए पनि अन्य पदाधिकारी तथा संगठनात्मक संरचना क्रमशः विस्तार गर्दै पूर्णता दिने तयारी रहेको जनाइएको छ।
यूएनडीओले सभापति नारायण स्टिभेन्ससहित जापानको नयाँ टिमलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।



















