नेपाल एयरलाइन्सले जापान उडान बढाउँदै, सेप्टेम्बर १८ देखि सातामा चार पटक नारिता उडानको तयारी

नेपाल वायुसेवा निगमले जापान जाने यात्रुको बढ्दो माग र नजिकिँदै गरेका चाडपर्वलाई ध्यानमा राख्दै काठमाडौँ–नारिता–काठमाडौँ उडान बढाउने तयारी गरेको छ।

निगमले तयार गरेको नयाँ तालिकाअनुसार सेप्टेम्बर १८ देखि नारिता उडान सातामा चार पटक सञ्चालन गर्ने योजना छ। प्रस्तावित तालिकाअनुसार मंगलबार, बिहीबार, शुक्रबार र आइतबार जापानतर्फ उडान हुनेछन्।

हाल निगमले काठमाडौँबाट नारिताका लागि मंगलबार, बिहीबार र आइतबार गरी सातामा तीन उडान सञ्चालन गरिरहेको छ। निगमको आधिकारिक वेबसाइटमा प्रकाशित हालको तालिकाले पनि अगस्ट १८ सम्म सातामा तीन उडान रहेको पुष्टि गर्छ।

यसैबीच निगमको एयरबस ए३३० वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत सी–चेक मर्मतपछि नेपाल फर्किएको छ। विमान नियमित प्राविधिक मर्मत पूरा गरी पुनः उडान सेवामा प्रयोग गर्न थालिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0