जापान भ्रमणमा राष्ट्रपति पौडेल: नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी तथा व्यापारिक अवसर खोज्न आग्रह गर्नुभएको छ। नेपाल सरकार वैदेशिक लगानीका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले जापानी निजी क्षेत्रलाई आवश्यक सहजीकरण र लगानी सुरक्षाको व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा टोकियोमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालले जापानी निजी क्षेत्रसँग दीर्घकालीन साझेदारी विकास गर्न चाहेको बताउनुभयो। उहाँले कृषि, ऊर्जा, जलस्रोत, पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार नेपाल यस वर्ष अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुँदैछ र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यसहित अघि बढिरहेको छ। सो लक्ष्य हासिल गर्न वैदेशिक लगानी महत्वपूर्ण हुने उहाँको भनाइ छ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सहभागी जापानी व्यवसायीहरूले नेपालमा लगानीका प्रशस्त अवसर रहेको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0