
जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो सरकारप्रति जनसमर्थन अझ बलियो बनाउन आगामी साताहरूमा आम निर्वाचन गराउने विचार गरिरहनुभएको छ। शनिबार जापानका ठूला सञ्चारमाध्यमहरूले सरकारी स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन्।
गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीको मन्त्रिपरिषद्ले हाल करिब ७० प्रतिशत जनसमर्थन पाएको छ। तर उहाँको सत्तारूढ समूहसँग संसद्को तल्लो सदनमा झिनो बहुमत मात्र भएकाले ठूला नीति र योजना कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ।
योमिउरी र माइनिची दैनिक पत्रिकाका अनुसार प्रधानमन्त्री ताकाइचीले जनवरी २३ मा संसद् सत्र सुरु हुँदा तल्लो सदन विघटन गर्ने सम्भावना छ। यदि त्यसो भए फेब्रुअरीको सुरुदेखि मध्यसम्म आम निर्वाचन हुन सक्छ।
प्रधानमन्त्री निकट स्रोतहरूका अनुसार जनसमर्थन उच्च भएको बेला निर्वाचनमा जानु उपयुक्त हुने धारणा सरकारभित्र बलियो छ। सुरुमा अल्पमत सरकारको नेतृत्व गरेकी ताकाइचीको दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले गठबन्धनसहित पछि तल्लो सदनमा बहुमत पुनः प्राप्त गरेको थियो।
माथिल्लो सदनमा भने सत्तारूढ समूह अझै अल्पमतमै छ। ठूला बहुमत प्राप्त भए ताकाइचीले सक्रिय आर्थिक खर्च, बलियो सुरक्षा र खुफिया नीति अघि बढाउन सजिलो हुने विश्लेषकहरूको भनाइ छ।
यसले चीनसँग बिग्रिएको सम्बन्ध सुधार्न पनि मद्दत गर्न सक्ने बताइएको छ। ताइवान विषयमा ताकाइचीको कडा अभिव्यक्तिपछि चीन–जापान सम्बन्ध तनावपूर्ण बनेको थियो। यद्यपि गत महिना प्रधानमन्त्री ताकाइचीले चीनसँग संवादका लागि आफू सधैं तयार रहेको स्पष्ट पार्नुभएको छ।

























