
टोकियो, जापान
हरेक वर्ष हजारौँ विदेशी विद्यार्थीहरू, विशेषगरी नेपाल, बङ्गलादेश, श्रीलंका र भूटानबाट जापान अध्ययनका लागि आउँछन्। उनीहरूको मुख्य उद्देश्य हुन्छ—जापानी भाषा सिक्ने, उच्च शिक्षा हासिल गर्ने र उज्यालो भविष्य निर्माण गर्ने। तर पढाइ सकेपछि उनीहरू मध्ये धेरैको सपना पछिल्ला वर्षहरूमा दुःस्वप्नमा परिणत भइरहेको छ।
पढाइका क्रममा पार्ट-टाइम काम गरेर खर्च धान्ने विद्यार्थीहरू अध्ययन पूरा भएपछि नयाँ चुनौतीमा पर्छन्—वर्किङ भिसा पाउने संघर्षमा। भिसा नपाउँदा उनीहरूलाई काम मात्र होइन, जापानमै बस्ने अधिकार पनि गुम्न सक्छ। यही परिस्थितिमा केही कम्पनीहरूले “वर्किङ भिसा दिलाइदिन्छौं” भन्दै सहयोगको आश्वासन दिन्छन्। तर धेरैजसो विद्यार्थीहरूका लागि यही ‘सहयोग’ ठगीको जाल बन्न पुगेको छ।
विद्यार्थीहरूका अनुसार, ती कम्पनीहरूले “कम्पनी स्पोन्सर मिलाइदिन्छौं”, “जापानमै काम गरिराख्न सक्नुहुन्छ” जस्ता मीठा वाचा गर्छन् र यसको सट्टामा मोटो रकम असुल्छन्। तर अन्ततः वाचा पूरा हुँदैन, जसले गर्दा विद्यार्थीहरू आर्थिक र कानुनी समस्यामा फस्छन्।
पीडितहरू कानुनी उजुरी गर्न डराउँछन्, किनभने उनीहरूको भिसा स्थिति अस्थिर हुन्छ। “कानुनी र सामाजिक अधिकारबारे जानकारीको अभावले यस्तो समस्या बढ्दै गएको हो,” जापानमा विदेशी विद्यार्थीहरूको विषयमा अध्ययन गर्ने एक विज्ञले बताए।
जापानी सरकारी निकायहरूले पनि यस्ता ‘हाक्केन कम्पनी’ (काम लगाइदिने संस्था) माथि निगरानी कडा गर्न सुझाव दिएका छन्। साथै, विज्ञहरूका अनुसार विद्यार्थीहरूले कुनै पनि कम्पनीलाई रकम बुझाउनु अघि लिखित सम्झौता (Contract) गर्न र कम्पनीसँग लाइसेन्स’ छ कि छैन भन्ने अनिवार्य रूपमा जाँच गर्नुपर्छ।
विशेषज्ञहरूको भनाइमा, सचेतना र कानुनी ज्ञान बढाउन सके मात्र यस्ता ठगीका घटनाहरू घट्ने सम्भावना रहन्छ।




















