
जापानको कन्साई क्षेत्रमा आयोजना हुन लागेको ‘NEFIN Cultural Festival Kansai 2026’ सुरु हुन अब ३ दिन मात्र बाँकी छ। नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको प्रस्तुतिमा महोत्सव सेप्टेम्बर १८ शुक्रबार र १९ शनिबार, २०२६ मा दुई दिन आयोजना हुँदैछ।
महोत्सव ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित हान्शिन अमागासाकी स्टेशन नजिकैको सेन्ट्रल पार्क, कान्दा नाकादोरी १–४ (〒660-0884) मा हुनेछ। कार्यक्रम दुवै दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आमन्त्रित चर्चित कलाकार रामजी खाँड, देवी घर्ती, टीका सानु र सम्झना लामिछानेसहितका कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकका तर्फबाट जानकारी प्राप्त भएको छ।
महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, संगीत, परम्परागत भेषभूषा, नेपाली खाना, हस्तकला, सांस्कृतिक स्टल तथा मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्।
नेपालका हिमाल, पहाड र तराई–मधेशका विभिन्न समुदायको भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई एउटै स्थानमा हेर्न र अनुभव गर्न सकिने गरी कार्यक्रमको तयारी गरिएको छ।
आयोजकका अनुसार महोत्सव नेपाली समुदायमा मात्रै सीमित नभई जापानी तथा अन्य देशका नागरिकलाई समेत नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानसँग परिचित गराउने अवसर बन्ने अपेक्षा गरिएको छ।
महोत्सवको टाइटल स्पोन्सर Ria/KYODAI Remittance रहेको छ भने कार्यक्रम Solti Momo द्वारा Powered by गरिएको छ। सेवा इन्टरनेशनल स्कुल इभेन्ट पार्टनरका रूपमा रहेको छ भने अमागासाकी सिटीले कार्यक्रमलाई सहयोग गरेको छ। त्यस्तै साकुरा एसियन एच.डी. र सफल मोशन पिक्चर्सले डिजिटल सहकार्य गरेका छन्। विभिन्न संघसंस्था पनि सह–आयोजक तथा सहयोगीका रूपमा महोत्सवमा जोडिएका छन्।
आयोजकले जापानमा रहेका नेपाली समुदाय, जापानी नागरिक तथा नेपाली कला र संस्कृतिमा रुचि राख्ने सबैलाई परिवार तथा साथीभाइसँग महोत्सवमा सहभागी भएर नेपालको मौलिक संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धनमा साथ दिन आग्रह गरेको छ।



















